Trending :
 

देशको विकास गर्न सबै एकजुट हुन नेता सिंहको आग्रह

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताउनुभएको छ । 
 
बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि  नगरपालिका-१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भन्नुभयो, “देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।” 
 
नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गर्नुभयो । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गर्नुभयो ।
 
कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले चन्द्रागिरि नगरपालिका–१० मा निर्माणाधीन अवस्थामा रहेको विन्धबासिनी माताको मन्दिर निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 
 
बागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, पर्यटनलगायत क्षेत्रमा उल्लेख बजेट विनियोजन गर्दैै ती क्षेत्रमा थुप्रै विकासका काम भइरहेको जानकारी दिनुभयो । बिन्धबासिनी मन्दिर निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिने बताउनुभयो ।