भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले लगानी गर्ने
-आस्था न्यूज
असार २६, २०८० काठमाडौं ।
दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ।
अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क तेयोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी सम्झौता भएको हो।
यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछन्।
कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ। प्रभावकारी सेवा प्रवाहका लागि पुराना र नयाँ अस्पतालका भवनहरू आपसमा जोडिनेछन्।