नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै
-आस्था न्यूज
असार २८, २०८० काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए । गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।
चोटपछि नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन्। गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिइन् । यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छन् ।
घुँडाको उपचारपछि पुनरागमन गरेकी गीता अस्वथ्य रहेका कारण टोली बाहिर रहने सम्भावना छ । टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफूहरूले कमजोर रूपमा नहेरेको बताइन् ।
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ ।
नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।