Trending :
 

असारे र डोजरे विकासले साह्रै समस्या पार्योः भौतिक मन्त्री प्रकाश ज्वाला

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
 
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनविना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौं प्राकृतिक विपत्ति निम्तिएको भन्दै असारे र डोजरे विकास अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
 
‘विना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौं प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगामाटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौं बिगाहा खेतीयोग्य भूमि पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौं,’ उनले भने ।
 
उनले काठमाडौंलगायत विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताए ।