काजमा बस्ने डाक्टरहरुलेले स्वास्थ्यमन्त्रीलाई धम्की दिएपछि....
-आस्था न्यूज
असार २८, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।
बिहीवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको बताए । आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन थालेको उनले बताए ।
उनले दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताएका छन् । स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने उनको प्रतिबद्धता छ ।
स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्याएर नै छोड्ने बताए ।
उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।