Trending :
 

अर्को बैठकमा मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रास्वपाको चेतावनी

आषाढ २९,२०८०

-आस्था न्यूज

असार २९, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ ।
 
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन् । शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे ।
 
उनले जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न नसक्ने उल्लेख गरे ।
 
सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताएका छन् ।
 
सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।
 
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो ।
 
तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको सकेन् ।
 
सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको उनले बताए ।