Trending :
 

सन् २०३० सम्ममा एड्सको नियन्त्रण गर्न सकिने राष्ट्रसंघको दाबी

आषाढ २९,२०८०

-आस्था न्यूज

असार २९, २०८० काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
 
‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ ।
 
युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’
 
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो । ब्यानिमाका अनुसार एचआईभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् ।
 
उनले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भने, ‘ती मुलुकमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।’
 
बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५-९५-९५ को लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी-रेट्रोभाइरल उपचार गराइरहेका छन् ।
 
सङ्क्रमितमध्ये ९५ प्रतिशत मानिसहरू सङ्क्रमणलाई दबाउन उपचार गरिरहेका छन् । त्यसैले अरूलाई सङ्क्रमित गर्ने सम्भावना छैन ।
 
कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हाँसिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी सङ्क्रमित बसोबास गर्ने उप(सहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्याण्डलगायत आठ मुलुक रहेका छन् ।