केही नेपाल ऐन संशोधन विधेयक अघि बढाए नेपाल पछाडि धकेल्ने ज्ञानेन्द्र शाहीको दावी
-आस्था न्यूज
असार ३१, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ अघि बढाए नेपाल अफ्रिकाभन्दा पनि पछाडि धकेल्ने दावी गरेका छन् ।
विधेयक संसदमा अघि बढाउने विषयमाथि विरोधको सूचना दर्ता गराएका सांसद शाहीले सो विधेयक अघि बढेर कानुन निर्माण भएमा राजनीतिक आवरणमा सडकमा हत्याको श्रृङ्खला बढ्ने बताएका हुन् ।
उनले अहिले अफगानिस्तानका बीच बजारमा बम पड्किएको जस्तै नेपालमा भोलि बम पड्किन सुरु हुने बताए । राज्यले कमजोर कानुन बनाउने, राजनीतिक भनेर अदालतले फैसला गरेको दोषी पनि छोड्ने र राजनीतिक आस्थाका आधारमा मान्छे मार्न थाल्ने हो भने यो देशमा भोलि कोही जिवित रहन्छ ? भन्दै प्रश्न गरे ।
‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मा फौजदारी सम्बन्धी कसुरमा राजनीतिक प्रकृतिको भए सरकारले मुद्दा फिर्ता लिनेसम्बन्धी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।