विकास निर्माणका काममा दलहरूबीच सहकार्य आवश्यकः उपप्रधानमन्त्री खड्का
-आस्था न्यूज
असार ३१, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरुबीच सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् । उनले राजनीति गर्ने नेताहरुलाई जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए ।
‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेहरूको प्रतिवद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नं. १ मा भएको कार्यक्रममा उपप्रधानमन्त्री खड्काले भने, ‘विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरू गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ ।’
भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए ।
‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहिन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं ।’
उनले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका,स्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपुर्जा वितरणको काम भइरहेको बताए ।