Trending :
 

वीर अस्पताल र ट्रमा सेन्टरमा आजदेखि बिहान ८ बजेदेखि ओपिडी सेवा सुरू

श्रावण ०१,२०८०

-आस्था न्यूज

साउन १, २०८० काठमाडौं ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।
 
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए ।
 
वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीको ई(हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।
 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको थियो ।