अधिकमास (मलमास) सुरु, के गर्ने के नगर्ने ?

श्रावण ०२,२०८०

-आस्था न्यूज

साउन २, २०८० काठमाडौं ।
प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।
 
साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् ।
 
दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउनुहुन्छ ।
 
चान्द्र मासमा दुईवटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासका बारेमा गर्नुभएको चर्चामा भनिएको छ–
 
‘असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।’
 
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेकाँही मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलको भनाइ छ । 
 
क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरे पनि प्रायः मङ्सिर र पुसमै  पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । 
 
क्षयमास हुने वर्षमा दुई अधिकमास नियमित पर्छ । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । 
 
सबै मासका देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । सो गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ  ।
 
अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
 
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने परम्परा छ ।
 
मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता कर्म गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन ।
 
मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु 
 
रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ ।   
 
मलमासको अवधिभर मच्छेनारायणमा टाढाटाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी बताउनुहुन्छ ।  
 
यो महिनामा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
 
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ । यसअघि २०७७ साल असोज महिनामा अधिकमास परेको थियो । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्दै आएका छन् ।