राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुगेका झण्डै एक हजार नेपाली बन्धक

श्रावण ०३,२०८०

-आस्था न्यूज

साउन ३, २०८० काठमाडौं ।
राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् । 
 
महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो समय करेन्ट लगाएर चरम यातना दिन थालेपछि पीडितका परिवार हारगुहार गर्दै प्रहरी र परराष्ट्र मन्त्रालय धाउन थालेका छन् । 
 
म्यानमारको राजधानीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक छन् । 
 
त्यहाँ उनीहरूलाई अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार अनलाइनमार्फत ठगी गर्न नसके करेन्ट लगाएर यातना दिने गरिएको पीडितहरूले बताएका छन् । फर्कन खोज्दा पनि चिनियाँले लाखौँ फिरौती माग्ने गरेका छन् । केही फिरौती बुझाएर हालै फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारको पर्खाइमा छन् । 
 
चरम यातनाका कारण कतिपय गम्भीर बिरामीसमेत भएको म्यानमारबाट शुक्रबार फर्किएका एक युवकले बताए । फर्किएका युवक १० हजार अमेरिकी डलर चिनियाँलाई बुझाएर मुक्त भएका हुन् । 
 
फिरौती बुझाएर हालै ६ जना फर्किएका छन् । गत शुक्रबार चार तथा आइतबार दुई नेपाली युवक काठमाडौं आइपुगेका हुन् । उनीहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । जसका आधारमा ब्युरोले एक चिनियाँसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
 
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।