पाल्पाका युवाले सुरु गरे इन्टरनेटको सहायताबाट बङ्गुरपालन व्यवसाय

श्रावण ०३,२०८०

-आस्था न्युज

श्रावन ३ ,२०८० काठमाडौँ । 
पाल्पा रामपुर नगरपालिका-१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उहाँले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाउनुभएको छ । 
 
पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभएको हो । विभिन्न पेसा, व्यावसायको खोजीमा रहनुभएका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उहाँ बताउनुहुन्छ । “व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।
 
कक्षा ७ सम्मको अध्ययन गर्नुभएका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गर्नुभएको हो । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उहाँ बताउनुुहुन्छ । तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उहाँको भनाइ  छ । 
 
सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउनुहुन्छ । यस व्यवसायमा उहाँकी श्रीमती यममाया  सारुले साथ दिँदै आउनुभएको छ । श्रीमान्श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लाग्नुभएको छ । अहिले उहाँको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् ।
 
सारुको दिनचर्या यतिबेला बङ्गुरको रेखदेखमा बित्ने गरेको छ । घरमा उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ । एकवटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारु बताउनुहुन्छ । उहाँले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी बेच्नुहुन्छ । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारुले बताउनुभयो । “बङ्गुर हुर्काएर ठूलो बनाएर मासुका लागि बेच्नुभन्दा साना पाठापाठी ९५० देखि ६० दिनका० बेच्दा धेरै फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “पाठापाठी जन्मेपछि खरिद गर्ने ग्राहक प्रशस्त भेटिने भएकाले बिक्री गर्न धेरै सहज, बजार मूल्य राम्रो हँुदा यसबाट राम्रै आयआर्जन गर्न सकिन्छ ।” 
 
रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रुपमा पाल्नुभएको हो । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु छ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उहाँको भनाइ छ । ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उहाँ बताउनुहुन्छ ।  ्