युक्रेन सङ्कट समाधानका लागि वार्ता कूटनीतिमा भारतको जोड
-आस्था न्यूज
साउन ३, २०८० काठमाडौं ।
भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्रसङ्घको वार्षिक साधारणसभामा भएको युक्रेन बहसमा जारी द्वन्द्वप्रति भारतको गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिमा फर्कन आग्रह गर्नुभयो । उहाँले यो युद्धको युग नभइ वार्ता र कूटनीतिको भएकाले त्यसकै माध्यमबाट सङ्कटको निकास खोजिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
द्वन्द्वका कारण विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरुको ज्यान गएको, दुवै देशका जनता पीडामा परेका उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधिले युक्रेनको अवस्थालाई लिएर भारत चिन्तित भएको बताउनुभयो ।
उहाँले लाखौं घरबारविहीन भएका, तीमध्ये अधिकांश छिमेकी देशहरूमा शरण लिन बाध्य भएका, नागरिक पूर्वाधारमा भएका आक्रमणले परिस्थितिलाई अझ जटिल एवम् चिन्ताजनक बनाएको बताउनुभयो । उहाँले रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न हालैका घटनाक्रमप्रति भारत चिन्तित भएको बताउँदै शान्ति र स्थायित्वका निम्ति दुवै पक्षलाई वार्तामा बस्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रुसका शीर्ष नेतालाई ‘यो युद्धको युग होइन’ भन्ने कुरामा जोड दिनुभएको दोहो¥याउँदै स्थायी प्रतिनिधिले कम्बोजले मानव जीवनको मूल्यमा कुनै पनि हालतमा समाधान हुन नसक्ने विषयमा निरन्तर आवाज उठाएको तथा बढ्दो हिंसाले कसैको हित नहुने भएकाले मतभेद र विवाद समाधानको एक मात्र उपाय कूटनीति र वार्ता नै भएको बताउनुभयो । शान्ति स्थापनाका निम्ति कूटनीतिका सबै माध्यम खुला राख्न आवश्यक भएको उहाँले बताउनुभयो ।