खोटाङमा किबी र लिचीको उत्पादनमा बृद्धि

श्रावण ०४,२०८०

-रासस

साउन ४,  २०८० काठमाडौं ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा  खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष  किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । 
 
जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा  आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ । 
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ ।
 
जन्तेढुङ्गा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन् ।