Trending :
 

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने मन्त्री बस्नेतको दाबी

श्रावण ०४,२०८०

-आस्था न्यूज

साउन ४,  २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 
डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताउनुभयो । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ई(हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो ।  सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ । मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिनुभएको छ । 
 
स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई(हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो ।
 
“डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो । 
 
स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उहाँको विश्वास छ । बञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट बञ्चित हुनसक्ने र प्रविधिको दुरुपयोग रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।