नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग
-आस्था न्यूज
साउन ४, २०८० काठमाडौं ।
सांसद डा बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो ।”
सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवद्र्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले देशविकासको पूर्वाधार शिक्षा भन्दै भएको नीतिगत तहबाटै सुधारको खाँचो औल्याउनुभयो । सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।