Trending :
 

भारतद्वारा बासमतीबाहेकका चामल निर्यातमा रोक

श्रावण ०५,२०८०

-आस्था न्यूज

साउन ५, २०८० काठमाडौं ।
भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो ।
 
निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको र यो निर्णय तत्कालै लागू भएको महानिर्देशनालयको सूचनामा उल्लेख छ । तर यसअघि नै निर्यातका लागि लोड भइसकेको हकमा भने बाधा पुग्ने छैन ।
 
भारतमा धानको उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको अनुमान छ । भारतले चामल निर्यात रोकेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर व्यवसायीले भारतको पछिल्लो निर्णयले खासै असर नपर्ने दाबी गरेका छन् ।
 
भारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ । गएको आर्थिक वर्ष २०७९र८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।