संक्रमणकालिन विधेयकमाथि सहमति जुटाउन २ साता म्याद थप्ने निर्णय
-आस्था न्यूज
साउन ५, २०८० काठमाडौं ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन २ साता समय थप गर्ने निर्णय भएको छ । सहमति जुटाउनका लागि यसअघि गठित उपसमितिलाई काम गर्न थप समय दिने निर्णय भएको हो ।
शुक्रबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरू सुवास नेम्वाङ्ग, सोविता गौतम, रामहरि खतिवडालगायतले सबै पक्षको सहमतिमा विधेयक अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
सांसद नेम्वाङ्गले १० दिनमा सक्ने गरी गृहकार्य गरिरहेका बेला १५ दिनको समय दिनु उपयुक्त हुने बताए । समितिका ज्येष्ठ सदस्य एवं सभापति रहेका मङ्गलप्रसाद गुप्ताले २ साताका लागि समय थप गर्ने निर्णय भएको बताए ।
आजको बैठकमा उपसमितिले सहमति जुटाउन गरेको प्रयास, बसेका बैठकहरूका बारेमा समितिमा जानकारी गराइएको थियो ।
गत जेठ ५ गते २१ दिनभित्र सहमति जुटाउनका लागि उपसमिति गठन गरिएको थियो । उपसमितिमा सुवास नेम्वाङ, सन्तोष परियार, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, गोमा लाभ, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन् । उपसमितिलाई दुई साताभित्र काम सक्न समय दिइएको छ ।