विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको प्रधानमन्त्रीको भनाई
-आस्था न्यूज
साउन ५, २०८० काठमाडौं ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।”
उहाँले देश र जनता एवं स्वयं आफ्नो व्यक्तिगत जीवनलाई कसरी प्रविधिमैत्री बनाउने, कुन सामग्री देश र समाजका लागि अनुकूल वा प्रतिकूल छन्, तिनीहरूबारे आधारभूत ज्ञान कसरी राख्ने, सही सामग्रीको छनोट कसरी गर्ने रु लगायत विषयमा पर्याप्त ज्ञान हुनुपर्ने बताउनुभयो ।
“पर्याप्त ज्ञानबिना साइबर प्रविधिको प्रयोग र यसमार्फत पैदा भएका चुनौतीसमेत सामना गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “तसर्थ विद्यालय तहबाट नै पाठ्यक्रममा डिजिटल साक्षरताको व्यवस्था गर्नेतर्फ समेत हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ ।”
सूचना प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आधुनिकीकरण, विश्वव्यापीकरण र नेटवर्कमा आधारित कम्प्युटर सञ्जालीकरणले राष्ट्रिय सुरक्षाको गहनता, चासो र क्षेत्र दिन प्रतिदिन फराकिलो बन्दै गएको बताउनुभयो ।