त्रिभुवन विमानस्थल सुन तस्करीको अखडा बन्दै, पाइन्ट र अन्डरवेयरमा समेत तस्करी

श्रावण ०६,२०८०

-आस्था न्यूज

साउन ६, २०८० काठमाडौं । 
सुन तस्करीको अखडा बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुन थालेको छ । सुन तस्करीका एकपछि अर्को ठूलो काण्ड सतहमा आइरहेका छन् । तस्करसँगै उद्योगी–व्यापारी, राजनीतिक नेतृत्व, प्रहरी प्रशासन र कर्मचारी संयन्त्रसमेत मुछिँदा तस्करीको जालो डरलाग्दो रहेको देखाउँछ । 
 
३८ क्विन्टल सुन तस्कर प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, मुलुक नै तरंगित बनेको थियो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे । त्यसपछि पनि तस्करी रोकिएन, बरु शैली र रूप बदलिए । तस्करी झन्झन् मौलाउँदै गएको तथ्यांकले देखाउ“छ । सुन तस्करीमा तस्करले अपनाएका शैली अनौठा-अनौठा छन् ।
 
पछिल्लोपटक बुधबार विमानस्थलस्थित भन्सार जाँचपास पार गरेर बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्‍यो । सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो, जसको अनुसन्धान जारी छ । 
 
गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ ई-सिगरेट (विद्युतीय चुरोट)सहित पक्राउ परे । अनुसन्धानपछि ई–सिगरेटभित्र सुन रहेको खुल्यो । भन्सार विभागले बरामद सबै सिगरेटको ‘सिलिन्डर’ खोल्यो । लुकाई राखिएको सुन जम्मा गर्‍यो । तौल लिँदा सुनको परिमाण नौ किलो रहेको खुल्यो ।
 
त्यसको दुई दिनअघि फरक शैलीमा सुन तस्करी भएको भेटियो । ८ पुसमा अन्तर्राष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमदले डफला साराफेन्दिनले उक्त सुन कपडामा ‘स्प्रे’ गरी ल्याएका थिए । 
 
एक महिनाअघि ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । उनले कार्टुनको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । 
 
उनलाई प्रहरीले विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद उनलाई ‘एक्सरे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५ ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । 
 
कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवर गत १७ फागुनको बिहान २ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो ।
 
माथिका घटनाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको, तर शैली भने एकपछि अर्को बदलिएको देखाउँछ । यी तथ्य विमानस्थल सुरक्षार्थ तैनाथ हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अधिकृत पनि स्वीकार गर्छन् । कार्यालयका प्रवक्ता एसएसपी दीपशमशेर जबराले पछिल्ला दिन तस्करले तस्करीको शैली बदलेको बताउँछन् ।
 
उनी भन्छन्, विमानस्थलबाट सुन धेरै तौरतरिकाबाट तस्कर हुने गरेको विभिन्न घटनाले पुष्टि गर्छ । बुधबार भन्सारको जाँचपासबाट बाहिरिएको सय किलोभन्दा धेरै सुन बरामद भयो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर ल्याएको देखियो । त्यसबाहेक पनि तस्करले पाइन्ट, अन्डरवेयर लगाएका वस्त्रमा ‘स्प्रे’ गरेर सुन तस्करी गर्ने गरेको फेला परेको छ ।’  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।