सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइने मन्त्री शर्माको भनाई
-आस्था न्युज
श्रावण ६,२०८० काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताउनुभएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तक्र्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबैै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्नुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले सडक, खानेपानी, विद्युत्, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गर्नुभयो ।
जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यस विषयमा वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताअनुसार समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेस प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव सङ्कलनको अभियान सुरु गरिएको जानकारी दिनुहुँदै उहाँले मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याउने तयारी गरिएको बताउनुहुँदै मन्त्री शर्माले धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालयमा एक वर्षभित्र इन्टरनेट सेवा पुर्याउने बताउनुभयो ।
पूर्वपश्चिम र उत्तर दक्षिण राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने आफ्नो पहिलो निर्णय गरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । सूचना प्रविधिको पहुँच नपुगेको ठाउँमा पुहँच पुर्याउने र सर्वसुलभ ढङ्गबाट सञ्चार सेवा उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको चर्चा गर्नुहुँदै मन्त्री शर्माले सूचना र सञ्चारको तीव्र विकास भएको अवस्थामा पनि हिमाल र पहाड भेगमा अझै सञ्चार सेवा पुग्न नसकेकाले त्यहाँसम्म कसरी सेवा पुर्याउने भन्ने ठोस योजना बनाउन टेलिकमलाई निर्देशनसमेत दिनुभयो ।