Trending :
 

ललिता निवास र नक्कली भूटानी शरणार्थी प्रकरणमा मौनता बसेको भन्दै कांग्रेसलाई ध्यानकर्षण

श्रावण ०७,२०८०

-आस्था न्यूज

साउन ७, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् ।
 
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका कारण पार्टीमाथि भ्रष्टाचारको संरक्षक रहेको आरोप लाग्ने गरेको उनले सुनाए । ‘यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ । ललितानिवास र नक्कली भुटानी शरणार्थी काण्डमा मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुल्न पनि केसीले सुनाए।
 
त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनले कौतुहलमय सनसनी उब्जेको उनले पार्टी बैठकमा बताए । 
 
नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको र गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख रहेको केसीले बताए ।
 
सभामुख पद गुमेकोप्रति केसीले नेतृत्वसँग जवाफ मागेका छन् । एमाले नेतृत्वको निरंकुशताका विरुद्धमा एउटै मिसन लिएर जुटेका प्रचण्ड र माधव नेपाल पनि किन हामीबाट अलगिनु पर्ने स्थिति आयो ?’ भन्दै केसीले बैठकमा प्रश्न राखे ।
 
गठबन्धन टुट्ने अवस्था पुग्दा समेत पार्टी बैठकको महत्व नदेखिएकोप्रति उनले आश्चर्यता प्रकट गरे । 
 
एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भए पनि केन्द्रीय समितिको बैठक आह्वान नगरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे ।