सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित बनाउन मन्त्री ज्वालाको आग्रह
-आस्था न्यूज
साउन ७, २०८० काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधन आमनागरिकका साधन हुन्, आमनागरिकले प्रयोग गर्ने सवारीसाधन सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती सवारीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।”
मन्त्री ज्वालाले सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरु अनुशासित हुनुपर्ने र उनीहरुको पहिचान खुल्नेगरी अनिवार्यरुपमा पोशाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।