२०७२ यता ८०९ केजी तस्करीको सुन बरामद, पक्राउ पर्ने जहिल्यै भरिया मात्रै

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं । 
०७१/७२ यता सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परेका छन् । तर, ३३ केजी सुन काण्डमा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’बाहेक सबै भरिया तहका (केही कर्मचारीलाई छाडेर) मात्रै छन् । गोरे पनि मुख्य नाइके भने होइनन् । उच्च तहको राजनीतिक, प्रशासनिक र प्रहरी संरक्षणमा रहने तस्कर गिरोहका नाइके भने सधैँ जोगिने गरेका छन् । 
 
प्रहरी तथ्यांंकअनुसार ०७१/७२ देखि ०८० साउन पहिलो सातासम्म देशभरबाट सुन तस्करीको अभियोगमा पक्राउ परेकामध्ये ६८.८४ प्रतिशत सबैभन्दा संवेदनशील र सुरक्षित मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका हुन् । ४९७ जना विमानस्थलबाट पक्राउ परेको प्रहरी तथ्यांक छ । यस क्रममा तस्करीको आठ सय नौ किलो सुन बरामद भएको छ । 
 
पछिल्लोपटक गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपाससमेत गरेर बाहिरिएको एक क्विन्टल सुन ट्याक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी एकैपटक यति ठूलो परिमाणमा सुन बरामद भएपछि आमसर्वसाधारणले सोचेका थिए-घटनामा ठूलै गिरोह समातिनेछन् । तर, दोलखा मेलुङ गाउँपालिका- १ का २१ वर्षीय दिलीप भुजेल पक्राउ परे, जो ६ महिनाअघिसम्म काठमाडौंमा ज्यामी काम गर्थे । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्याला–मजदुरी गर्दै आएका छन् । 
 
उक्त सुन दिलीपकै नाममा दर्ता ‘रेडी ट्रेड’ कम्पनीका लागि हङकङबाट आएको थियो । जुन कम्पनी ७८ दिनअघि मात्रै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । कम्पनीले सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’भित्र लुकाएर ल्याएको सोही प्रकृतिको पार्टस् कम्पनीले यस अवधिमा २२ पटक ल्याएको अनुसन्धानबाट खुलिसकेको छ । यो घटनामा राजस्व अनुसन्धान विभागले आइतबारसम्म १६ जना पक्राउ गरेको छ । उनीहरूमध्ये विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्दबाहेक सबै ड्राइभर र भरिया मात्रै छन् । एक क्विन्टल सुन तस्करीका मुख्य नाइके अझै पक्राउ परेका छैनन् । यद्यपि, विभागको अनुसन्धान जारी नै छ । 
 
गत पुसमा विमानस्थलबाटै सुन तस्करीको अर्को घटना भयो । १० पुसमा फ्लाई दुबईको जहाज हुँदै ठूलो परिमाणमा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको ई–सिगरेट ९विद्युतीय चुरोट० बरामद भयो । सिगरेटलाई केही महिना भन्सार कार्यालयमै राखियो । सिगरेट छुटाउन भन्सार कार्यालयमा अनेक दबाब दिइयो । जब सिगरेट नागकीय ढंगले चोरी भयो, त्यसपछि खुल्यो– सिगरेटभित्र साढे नौ किलो सुन लुकाइएको थियो । 
 
प्रहरीले घटनामा संलग्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्कासहित ६ जनालाई पक्राउ गर्‍यो । तर, सुनको वास्तविक मालिक पत्ता लागेन । प्रहरी अनुसन्धान मालिक पहिल्याउने तहसम्म पुग्नै सकेन । ८ पुसमा पनि अन्तराष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाटै विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा ‘स्प्रे’ गरेर ल्याएका थिए । तर, प्रहरीको अनुसन्धान डफलाभन्दा अघि बढ्न सकेन । न उक्त सुनको वास्तविक मालिक पत्ता लाग्यो, न घटनामा संलग्न थप अभियुक्त नै पक्राउ परे । घटनामा जो पक्राउ परे, उनी भरिया मात्रै थिए । 
 
गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरेर सुन ल्याएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद उनलाई ‘एक्सरे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुई ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५० ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । पक्राउ परेका उनी पनि भरिया मात्रै थिए । 
 
कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर गत १७ फागुनको बिहान २स्२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग टकटकिए । उनको शरीरबाट कपडा पालैपालो उतारियो । उनले लगाएका पाइन्ट र गन्जीको तौल अस्वाभाविक देखियो ।
 
प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकि पाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । प्रहरीले उनको गन्जीको सिलाइ पनि उधार्‍यो । त्यसभित्र पनि सुनले ‘स्पे्र’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो । पक्राउ परेका उनी पनि केवल भरिया मात्रै थिए । 
 
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी र त्यसमा संलग्न भरिया मात्रै पक्राउ पर्ने माथिका पाँच प्रतिनिधि घटना मात्रै हुन् । नौ वर्षयता विमानस्थलबाट हुने सुन तस्करीका घटनामा संलग्न चार सय ८१ अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने लगभग सबै अभियुक्त भरिया हुन् ।
 
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायत लागुऔषध तस्करीकै शैलीमा संगठित तवरले सुनको तस्करी गरिएको हुँदा भरिया मात्रै पक्राउ परेको बताउँछन् । आजको नयाँ पत्रिकामा खबर छ ।