ग्रिसको जंगलमा अभिषण आगलागी, १९ हजार बढी मानिसले थातथलो छाडे
-आस्था न्यूज
साउन ८, २०८० काठमाडौं ।
ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ ।
लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।
बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ ।
ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।
आगोबाट जोगिन धेरै मानिसहरु आफ्नो थातथलो छाड्न बाध्य छन् । यद्यपि आगलागीबाट मानवीय क्षति भने नभएको ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मानिसहरुलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानका होटलहरुमा लगेर राखिएको छ ।