Trending :
 

स्पेन निर्वाचनः पपुलर पार्टी विजयी भएपनि सरकार गठनका लागि बहुमत पुगेन

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्बाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी (पीपी) ले सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।
 
निर्वाचनमा पीपीले सबैभन्दा बढी सीट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी (पीएसओई) ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बावजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन । त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ ।  
 
पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार (१५ साना वामपन्थी पार्टीहरूको समूह) ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् । 
 
माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो । 
 
कङ्ग्रेस अफ डेपुटीज तल्लो सदनको कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ । भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् । 
 
यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गर्नुभएको छ । 
 
“हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं,” सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भन्नुभयो ।
 
गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अङ्क अर्थात् ७०।३३ प्रतिशत मतदान भएको थियो ।