अनुदानमा प्राप्त देशभर करोडौँ मूल्यका २३३ स्वास्थ्य उपकरण प्रयोगविहीन

श्रावण ०९,२०८०

-आस्था न्यूज

साउन ९, २०८० काठमाडौं ।
कोरोना महामारीका वेला दाताहरूबाट अनुदानमा प्राप्तसमेत गरेर देशभर करोडौँ मूल्यका दुई सय ३३ स्वास्थ्य उपकरण प्रयोगविहीन पारेर थन्क्याइएका छन् । जसमा श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटरसम्मका महत्वपूर्ण उपकरण छन् । 
 
स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० प्रकारका दुई सय ३३ उपकरण प्रयोगविहीन छन् । अधिकांश मेसिन कोभिड महामारीको समयमा पठाइएका छन् । जसमा भेन्टिलेटर ९१, भेन्टिलेटरमै प्रयोग हुने बिप्याप मेसिन १९ थान र श्वास–प्रश्वासका बिरामी सुत्ने समयमा अक्सिजनको चाप नियन्त्रणमा राख्न प्रयोगमा आउने सिपिएपी मेसिन १६ थान छन् । आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा प्रयोगविहीन बनेको विभागको भनाइ छ ।
 
स्वास्थ्य सेवा विभागले अस्पतालमा लामो समयदेखि थन्किएका उपकरण फिर्ता ल्याउने तयारी गरिरहेको जनाएको छ । ‘लामो समयदेखि प्रयोगविहीन भएका उपकरणको खोजी भइरहेको छ । त्यस्ता मेसिन खोजेर आवश्यक पर्ने अन्य अस्पतालमा पठाउने प्रयत्न भइरहेको छ,’ विभागअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरसियाले भने ।
 
तरल पोषक तत्व वा औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पुर्‍याउन प्रयोगमा ल्याइने इन्फ्युजन पम्प १५ थान र मानव तन्तुको जाँच गर्ने, विशेषगरी पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलगायत रोग परीक्षणमा प्रयोग हुने मोबाइल थर्मोकोगुलेटर १३ थान थन्किएका छन् । त्यस्तै, बिरामीको फोक्सोमा आवश्यकताका आधारमा अक्सिजन आपूर्ति गर्न आवश्यक एनेस्थेसिया वर्कस्टेसन र मिर्गौला फेल भएका बिरामीमा रगत फिल्टरका लागि प्रयोग गरिने हेमोडायलाइसिस मेसिन ११-११ थान प्रयोगविहीन बनेका छन् । 
 
त्यस्तै, मुटुको धड्कन वा चाल मापन गर्ने इसिजी मेसिन १० थान, भाइरस, ब्याक्टेरिया, फंगललगायत मार्न प्रयोग गरिने अटोक्लेभ मेसिन आठ थान र हड्डी भाँचिएको, ट्युमर, निमोनियालगायत समस्या पत्ता लगाउने एक्सरे मेसिन सात थान बेबारिसे छन् । सिरिन्जबाट रगत निकालेर अक्सिजन, कार्बनडाइअक्साइड र पिएचको दबाब पत्ता लगाउने ब्लड ग्यास एनालाइजर र शरीरका भित्री अंगमा भएको समस्या पहिचान गर्न प्रयोग गरिने इन्डोस्कोपी मेसिन पाँच–पाँच थान प्रयोगविहीन बनेका छन् । 
 
त्यस्तै, शरीरमा दुखाइ, सुन्निएको र विभिन्न संक्रमण पत्ता लगाउन प्रयोग गरिने पोर्टेबल युएसजी मेसिन, छालामा अल्ट्राभाइलेट रेको माध्यमबाट उपचारमा प्रयोग हुने फोटोथेरापी मेसिन र नवजात शिशुलाई न्यानो बनाउन प्रयोगमा ल्याइने बेबी वार्मर चार–चार थान थन्किएका छन् । 
 
बिरामीको शरीरको तापक्रम, मुटुको धड्कन, रक्तचाप आदि नाप्न प्रयोग गरिने प्यासेन्ट मोनिटर तीन थान तथा पाठेघर र योनिको जाँचमा आवश्यक कोल्पोस्कोप मेसिन, छाती र स्तनको क्यान्सरका बिरामीको रेडियोथेरापी गर्दा मुटुमा रेडियसनको असर कम गर्न चाहिने एबिसी मेसिन र नमुना परीक्षणका लागि ल्याबमा चाहिने न्युक्लिक एसिड एक्स्ट्र्याक्सन मेसिन दुई–दुई थान प्रयोगविहीन बनेका छन् । त्यस्तै, एक्सरे मेसिनसँगै प्रयोगमा ल्याइने एक थान सी आर्म मेसिन पनि बेवारिसे छ । आजको नयाँ पत्रिकामा खबर छ ।