लक्ष्य अनुसार राजस्व संकलनमा ध्यान दिन अर्थमन्त्री महतको निर्देशन
-आस्था न्यूज
साउन ९, २०८० काठमाडौं ।
राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।
आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतले आग्रह गरे ।
‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा. महतले भने, ‘अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’
मूल्य अभिवृद्धि कर विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिए ।
स्याउ, आलु र प्याजमा पनि कर लागेको तर त्यो भन्सारमा मात्र लाग्ने बताउँदै उनले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए ।
मन्त्री महतले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्ने भन्दै अब कर्मचारीको कामका आधारमा मूल्यांकन हुने बताए ।