Trending :
 

लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात अर्थमन्त्री महतको भनाई

श्रावण ११,२०८०

-आस्था न्यूज

साउन ११, २०८० काठमाडौं ।
अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ । 
 
नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति-२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उहाँले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राख्नुभयो ।
 
“शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो,  “हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाई चारजना महत्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो ।” गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उहाँले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । 
 
हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उहाँले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताउनुभयो ।
 
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताउनुभयो । “दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,” उहाँले भन्नुभयो । कूलपति राईले प्रज्ञा प्रतिष्ठानभित्र हलोक्रान्तिलाई ७४ वर्षपछि आफ्नो विषय बनाएर अगाडि बढ्न लागेको बताउनुभयो ।