भ्रष्टाचारका अन्य फाइल पनि खुल्दै जानेछन्, यो राजनीतिक स्टन्ट होइनः प्रधानमन्त्री
-आस्था न्यूज
साउन १४, २०८० काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ ।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ । तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो कदम रोकिनेवाला छैन । अझै अगाडि बढ्छ । यो लडाइँ जित्नैपर्छ । यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन । नेपाली जनताको हितका लागि गरिएको हो ।”
भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईं नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ । हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन् । त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ ।” अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाईंका रुपमा उहाँले चित्रण गर्नुभयो ।
सङ्घीय शिक्षा विधेयक मङ्गलबार संसद्मा
प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबाार सदनमा पेस गरिने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उहाँले उल्लेख गर्नुभयो । सो विधेयकले शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याको समाधान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ ।