आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै रोल्पा गङ्गादेवका किसान
-आस्था न्यूज
साउन १५,२०८० काठमाडौं ।
रोल्पाको गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ । आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन् ।
यहाँ माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ । यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ । सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ ।
बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेव गाउँपालिकाका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन् । आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ ।
गङ्गादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतिबाटै हुन्छ । “हामिले घर खर्च चलाउने भनेकै आलुखेती हो । आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन”, केसीले भन्नुभयो । गङ्गादेव गाउँपालिकाका सबै वडामा आलु खेती राम्रो हुने भए पनि वडा नं। ३ आलुखेतीका लागि राम्रो मानिन्छ ।
आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भन्नुभयो । यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।
जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ । यसपटक गङ्गादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ । यसपटक करिब रु १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।