Trending :
 

आर्थिक सङ्कटले श्रीलङ्काकाको वास्तविक मित्र पहिचान गराएको पूर्वाधार मन्त्रीको भनाइ

श्रावण १५,२०८०

-आस्था न्यूज

साउन १५,२०८० काठमाडौं ।
भारत र श्रीलङ्काबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलङ्काले जनाएको छ । 
 
श्रीलङ्काका जलस्रोत, आपूर्ति तथा पूर्वाधार मन्त्री जीवन थोन्डमानले भारत र श्रीलङ्काबीचको सम्बन्ध बलियो र घनिष्ठ रहेको बताउँदै आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा उजागर भएको बताउनुभएको छ ।
 
पूर्वाधारमन्त्रीले आफ्नो एक सातालामो भारत भ्रमणपछि चेन्नई विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताउनुभएको हो । 
 
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थोन्डमानले भन्नुभयो, “गत साता श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेसँग हामीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थियौँ। 
 
प्रधानमन्त्री मोदीसँगको भेटमा हामीले धेरै विषयमा छलफल गर्यौं र नवीकरणीय क्षेत्रको विकासका लागि सहमति र सम्झौतामा हस्ताक्षर भएको छ ।” 
 
उहाँले आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा सारा विश्वले थाहा पाएको बताउँदै भन्नुभयो, “भारत र श्रीलङ्काबीचको सम्बन्ध निकै प्रगाढ र घनिष्ठ छ । यसमा केही शक्तिको घुसपैठले कुनै अर्थ राख्दैन ।”
 
श्रीलङ्काका मन्त्रीले प्रधानमन्त्री मोदीसँगको भेटमा विशेषगरी तामिल समुदायका साथै मछुवाका मुद्दासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले आइतबार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई पनि भेटेर मछुवाहरूको समस्याको स्थायी समाधानका विषयमा छलफल गर्नुभएको थियो ।