Trending :
 

कोशी प्रदेशमा गठबन्धनले सभामुखको राजीनामा गराएर बहुमत दाबी गर्ने

श्रावण १६,२०८०

-आस्था न्यूज

साउन १६, २०८० काठमाडौं ।
 कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि राप्रपाको साथ पाउने आशामा बसेको गठबन्धन अन्ततः राप्रपाको साथ लिन नसक्ने देखिएको छ । राप्रपाले आफू तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले उसको साथ पाउन नसक्ने अवस्था आएको हो ।
 
राप्रपाको साथ नपाए पनि गठबन्धनले भने प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको १६ गते बेलुका ५ बजेसम्मको समयमा बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने जनाएको छ । 
 
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरु बहुमतको दाबीसहित निर्धारित समयभित्रै प्रदेश प्रमुखसमक्ष पुग्ने बताए । 
 
‘गठबन्धन फुटेर अन्त कतै जाने कुरा हुँदैन । बरु यो गठबन्धनमा अन्य साथीहरु थपिन सक्ने सम्भावना छ । गठबन्धन फुट्ने वित्तिकै संघीय सरकार तथा अन्य ६ वटै प्रदेशका सरकारहरु संकटमा पर्छन्,’ आङ्बोले भने, ‘त्यसैले, बरु गठबन्धन प्रतिपक्षीमा बस्न तयार हुने तर यो गठबन्धन टुटेर अर्को सहकार्य गर्ने कुरा हामीले सोचेका छैनौं ।’ 
 
नेता आङ्बोले  अगाडि भने, ‘राप्रपासँग छलफल चलि नै रहेको छ । निष्कर्ष निस्किएको अवस्था भने छैन । अन्तिम विकल्प भनेको सभामुखको राजीनामा हो । त्यो पनि अन्तिम निष्कर्षमा पुगिसकिएको छैन । तर, अन्तिम समयमा हामी प्रदेश प्रमुखसमक्ष बहुमत संख्या लिएर सरकार गठनको दाबी गर्छौं ।’
 
उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन भएपछि मध्यावधिमा जाने डरले पनि धेरै सांसदले विश्वासको मत दिने दाबी गरे । 
 
‘अब बन्ने सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी ढुक्क छौं,’ आङ्बोले भने, ‘यद्यपि कसको नेतृत्वमा बहुमत दाबी गरेर जाने भन्ने विषय भने टुंगिसकेको छैन ।’ गठबन्धन दल काँग्रेसले भने तत्कालका लागि उद्धव थापा नै मुख्यमन्त्री बन्ने दावी गरेको छ ।
 
सर्वोच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रियाअनुसार गठन नभएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो । थापा नेतृत्वको सरकार गत असार २१ गते गठन भएको थियो ।