सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने मुख्यमन्त्री पाण्डेको भनाई
-आस्था न्यूज
साउन १६, २०८० काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनुभएको छ ।
गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा लगानी गर्ने उल्लेख गर्नुभयो ।
“अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, प्रदेशको अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जथाभावी लगानी गरे त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।” स्थानीय तहका जनप्रतिनिधिले योजना छनोट र प्रस्ताव गर्दा बढीभन्दा बढीले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले भोट बैंक सुरक्षित गरेर तथा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर बजेट छुट्याउने परम्पराको गण्डकीले अन्त्य गरेको उल्लेख गर्नुभयो । “एउटै खोलामा एक किलोमिटरको फरकमा पक्की पुल चाहियो भन्दै बजेट माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “नेताहरुले पनि आफ्नो फाइदा हुने ठाउँमा मात्र पुल बनाउनु पर्छ भन्दै दबाब दिने गरेका छन्, स्थानीय जनप्रतिनिधिले वास्तविक आवश्यकताको पहिचान गरेरमात्र योजना निर्माण गर्नुपर्छ ।”
मुख्यमन्त्री पाण्डेले सिँचाइ, खानेपानीलगायत कार्यालयबाट विनियोजित बजेटभन्दा बढी खर्च गरेर भुक्तानी लिने गरेको पाइएको जिकिर गर्दै त्यसको अन्त्य गरिने बताउनुभयो । “निश्चित बजेट विनियोेजन भएको ठाउँमा आफूखुसी खर्च गर्ने काम बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गोरखामा मात्र प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा झन्डै रु दुई अर्ब बराबरको बजेट विनियोजन भएको र त्यसबाट एक हजारभन्दा बढी योजना छनोटमा परेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।