प्रचण्डका ज्वाइँले मन्त्री दाबी गरेपछि कोशीमा मुख्यमन्त्रीको शपथ रोकियो
-आस्था न्यूज
साउन १७, २०८० काठमाडौं ।
नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम बेलुका ५ बजेका लागि सरेको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला माओवादीको आन्तरिक विवादले शपथग्रहण सरेको हो ।
माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय लाग्ने भएकाले शपथग्रहण कार्यक्रम सारिएको नवनियुक्त मुख्यमन्त्री थापाले बताए । अहिले गठबन्धन दलको बैठकले कार्यविभाजनको निर्णय गर्ने उनले बताए ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापासँगको सहमतिमा नै बुधबार बिहान १० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तोकेको थियो । शपथग्रहणमा प्रदेश प्रमुखको कार्यालयले आमन्त्रण गरेका अतिथिहरू आइसकेका बेला स्थगितको सूचना आएपछि उनीहरू फर्किन बाध्य भएका हुन् ।
मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १र१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेको बेला ५ बजेसम्मका लागि स्थगित गरिएको बताए ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादी दलभित्र बढेको विवादले शपथग्रहण सरेको माओवादीका एक प्रदेश सांसदले बताएका छन् ।