Trending :
 

विधान संशोधन गरी केन्द्रीय समिति समावेशी बनाउने माओवादीको निर्णय

श्रावण १७,२०८०

-आस्था न्यूज

साउन १७, २०८० काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी थप विस्तार हुने भएको छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको थियो । तर गतवर्ष विधान विपरित समितिलाई विस्तार गरी ३८५ सदस्यीय बनाइयो ।
 
बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले फेरि विधान संशोधन गरी केन्द्रीय समिति समावेशी बनाउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए । 
 
‘विधान समावेशी नभएको भन्दै महिला, जनजाति र युवा साथीहरूले गुनासो गरेका थिए । उहाँहरूको मागलाई सम्बोधन गर्न विधान संशोधन गर्ने निर्णय भएको छ । संशोधित विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि ४०९ सदस्य हुनेछ’, सचिव साहले जानकारी दिए । 
 
संशोधिन विधान केन्द्रीय समितिले जस्ताको तस्तै पारित गरेमा माओवादी केन्द्रीय समिति सदस्यको संख्या तत्कालीन नेकपाको हाराहारीमा बन्नेछ । ३ जेठ, २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ४४५ सदस्यीय केन्द्रीय समिति बनेको थियो ।   
 
माओवादीको केन्द्रीय समिति बैठक बुधबारदेखि ५ दिनसम्म राजधानीको  प्रज्ञाभवन कमलादीमा सञ्चालन हुँदैछ । बैठकले केन्द्रीय समितिको एजेण्डा पारित गरेको छ ।