Trending :
 

प्रस्तावित ६ मध्ये ३ राजदूतबारे आज संसदीय सुनुवाई हुँदै

श्रावण १८,२०८०

-आस्था न्यूज

साउन १८, २०८० काठमाडौं । 
सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनामाथि संसदीय सुनुवाई हुँदैछ । दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाई समितिमा ३ जनामाथि सुनुवाई हुन लागेको हो ।
 
संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीमाथि संसदीय सुनुवाई हुने छ ।
 
बुधबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका आवासीय प्रतिनिधिमा सिफारिस लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगमा सिफारिस राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईमाथि संसदीय सुनुवाई सकिएको छ ।
 
गत असार २६ गते मन्त्रिपरिषद बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सिफारिस राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।