दावा छिरिङ सुन तस्करी गर्न राजनीतिक शक्ति र कर्मचारी मिलाउने मुख्य व्यक्ति

श्रावण १९,२०८०

-आस्था न्यूज

साउन १९, २०८० काठमाडौं ।
क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित भियाना होटलबाट गत शनिबार समातिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ राजनीतिक शक्ति र कर्मचारी मिलाउने मुख्य व्यक्ति रहेको पाइएको छ । दावाको सम्बन्ध उच्च तहका केही राजनीतिक व्यक्तिसँग रहेको खुलिसकेको छ भने उनीसँग उठबसमा रहेका भन्सारका केही कर्मचारी पनि तानिने सम्भावना रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
 
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानमा दावालाई महत्त्वपूर्ण ‘कम्पोनेन्ट’ (अवयव) का रूपमा लिइएको जानकारी दिए । ‘हामी उनको सम्पर्क सूत्र विश्लेषण गरिरहेका छौं,’ उनले भने, ‘सुन प्रकरणमा जोडिने डरले धेरै चिनियाँ भागेका छन् ।’ महानिर्देशक ढुंगानाका अनुसार सुन तस्करी प्रकरणमा दावाले आफ्नो होटलमा बसेर योजना बनाएको घटना क्रमले देखाएको छ । ‘होटलमा दावासँग उठबस र आउजाउ गरेका मान्छेको पहिचान गरेर खोजी गरिरहेका छौं,’ उनले भने ।
 
विभागका अर्का एक अधिकारीले २र३ जना चिनियाँ अनुसन्धानको दायरामा रहेको र उनीहरूलाई पक्रने योजनामा रहेको जानकारी दिए । ‘केही नेपाली व्यवसायीसँग पनि दावाको उठबस देखिएको छ । हामीले कतिपयको पहिचान गरिसकेका छौं,’ ती अधिकारीले भने, ‘प्रमाण जुटाएर बयानका लागि बोलाउने तयारी गरिरहेका छौं ।’ क्विन्टल सुन प्रकरणमा अनुसन्धान गरिरहेको विभागले दावासँग सरोकार राख्ने जतिलाई बोलाउँदै बयान लिइरहेको छ ।
 
अनुसन्धान अधिकृतहरूका अनुसार स्कुटरको ‘ब्रेक सु’ को आवरणमा तस्करीको सुन ल्याउन रेडी ट्रेड कम्पनी खोलेर अवैध धन्दा चलाउन दावाको भूमिका रहेको छ । हङकङबाट भित्र्याइएको ‘ब्रेक सु’ सिनामंगल सडकबाट साउन २ मा बरामद गरेपछि खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएको थियो । त्यही विषयमा अनुसन्धान गर्ने क्रममा सोह्रखुट्टेबाट ‘ब्रेक सु’ का ६६ कार्टुन बरामद गरिएको थियो । तीमध्ये अधिकांश ‘ब्रेक सु’ खोक्रा थिए । गिरोहले ती ‘ब्रेक सु’ बाट सुन निकालेर अन्यत्र लगिसकेको विभागको अनुमान छ ।
 
दावाले दुइटा मोबाइल चलाउने गरे पनि एउटा मात्र भेटिएको विभागले जनाएको छ । दावाको भेटिएको मोबाइल पनि फर्मेट गरेको अवस्थामा थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दावाले आफूलाई हिरासतमुक्त गरे अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । ‘दावाले सुनका विषयमा बोल्न नचाहेकाले सूचना पाउन कठिन भइरहेको छ,’ एक अनुसन्धान अधिकृतले भने ।
 
सुन प्रकरणमा संलग्न भएको आशंकामा विभागले चिनियाँ, भारतीय, बेल्जियन नागरिक, भन्सार कर्मचारी, एजेन्ट, कार्गो व्यवसायीसहित १९ जना पक्राउ गरिसकेको छ । सुन बरामद भएको दुई साताभन्दा बढी समय बित्दा अनुसन्धानमा ढिलाइ भएको आवाज उठिरहेको छ । यसको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राखेर संसद्समेत अवरुद्ध हुँदै आएको छ । अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरीलाई पनि जिम्मा दिनुपर्ने आवाज उठिरहेको छ । आजको कान्तिपुरमा खबर छ।