Trending :
 

क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

श्रावण १९,२०८०

-आस्था न्यूज

साउन १९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन् । 
 
सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ ।
 
यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।
 
विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । विभाग आफैं प्रधानमन्त्री मातहतको निकाय हो ।
 
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बिहीबार साँझ सिंहदरबारमा संवैधानिक परिषद् बैठक बसेको थियो । त्यसलगत्तै करीब ७ बजेतिर प्रधानमन्त्री दाहालले क्विन्टल सुन प्रकरणमा भइरहेको अनुसन्धान, यसका उपलब्धि र थप अनुसन्धानका विषयबारे समीक्षा गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग संयुक्त छलफल गरेका थिए ।
छलफलमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुन तस्करी संगठित अपराध भएकोले त्यसको अनुसन्धान प्रहरीमार्फत हुँदा प्रभावकारी र अपराधको मूलसम्म पुग्न सकिने बताएका थिए ।