राहुल गान्धीको सांसद पद फुकुवा
-आस्था न्यूज
साउन १९, २०८० काठमाडौं ।
भारतीय कांग्रेसका पार्टीका नेता राहुल गान्धीको सांसद पद निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले फुकुवा गरेको छ ।
शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।
समाचार एजेन्सी पीटीईका अनुसार बेन्चले भनेको छ, ‘ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण बताएको छैन। यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसलामाथि रोक लगाउनु जरूरी छ।’
सन् २०१९मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो ।