सुन तस्करीमा चिनियाँ गिरोह नै संलग्न, १० चिनियाँ अध्यागमनको कालोसूचीमा

श्रावण २०,२०८०

-आस्था न्यूज

साउन २०, २०८० काठमाडौं ।
राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ । 
 
सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ । 
 
हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग्नता भेटिएको स्रोतको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्‍याउने गरी भएको यो तस्करीमा चिनियाँहरूको प्रमुख भूमिका अझै खुलिसकेको छैन, तर तस्करी व्यवस्थापनमा भने उनीहरूको संलग्नता खुलेको छ । यसका लागि विभिन्न तह र भूमिकामा चिनियाँहरू देखिएका छन् । 
 
‘सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने । यद्यपि, विभागले अहिलेसम्म तस्करीमा संलग्न चिनियाँहरूको लहरो भने पहिल्याउन सकेको छैन ।
 
सय किलो सुन बरामद भएको भोलिपल्टै विभागले चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा छापा हानेको थियो, त्यसको भोलिपल्ट ४ साउनमा उनलाई पनि विमानस्थलबाट पक्राउ गरिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ।