Trending :
 

माओवादी बैठकमा प्रचण्डको उत्तराधिकारी तयार पार्ने विधिको खोजीमा लाग्नुपर्ने प्रस्ताव

श्रावण २०,२०८०

-आस्था न्यूज

साउन २०, २०८० काठमाडौं ।
अध्यक्ष पुष्पकमल दाहालको विकल्प कसैले नखोजेको भए पनि उत्तराधिकारी तयार पार्ने विधिको खोजीमा लाग्नुपर्ने प्रस्ताव माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केन्द्रीय समितिसमक्ष राखेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको गरेको पनि बताएका छन् ।
 
काठमाडौंमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले भने, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले खोजेको छैन । उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने भएको छ ।
 
माओवादी केन्द्रमा देखिएको अहिलेको समस्या विचारको नभई विधिको भएको धारणा राखेका थिए । पार्टी संगठनमा पाका, प्रौढ र युवा नीति लागू गर्नुपर्ने प्रस्ताव पनि पुनको थियो । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको भन्दै उनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए । यस्तो अवस्थामा सरकार प्रमुख मोर्चा भएको निष्कर्ष उनको थियो ।
 
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।
 
पुनले पार्टी निर्माणका लागि गुट र उपगुट अन्त्य गरेर जानुपर्ने बताएका थिए । गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गरौं, म योगदान गर्न तयार छु, उनले भने ।