राज्यले प्रोत्साहन र सहयोग नगर्दा ‘फ्रस्टेड’ छन् नेपाली युवा वैज्ञानिक
-आस्था न्यूज
साउन २१, २०८० काठमाडौं ।
विज्ञान र प्रविधिको क्षेत्रमा हुटहुटी भएका युवालाई राज्यले प्रोत्साहन र सहयोग नगर्दा अधिकांश दक्ष जनशक्ति विदेश भासिएको छ, स्वदेशमै भएका कतिपय अन्य पेसातर्फ मोडिएका छन्
तीन वर्षअघि मोहन तामाङ, उज्ज्वल ढकाललगायत युवा इन्जिनियरको समूह विश्वकै ठूलो रकेट इन्जिनियरिङ प्रतियोगिता ‘स्पेसपोर्ट अमेरिका कप’मा छनोट भयो । त्यसपछि उनीहरू नेपालमै रकेट बनाएर उडाउने तयारीमा लागे । सन् २०२१ मार्चमा धनुुषाको भिमानमा उनीहरूले नेपाली सेनासँगको सहकार्यमा पहिलोपटक ‘आरम्भ’ र ‘गरुडा’ नामक रकेटको परीक्षणसमेत गरे ।
पटक–पटकको परीक्षणमा करिब १० किलोमिटर उचाइसम्म सफलतापूर्वक रकेट उडाए । तर, राज्यले सहयोग नगर्दा उनीहरू आफ्नो मिसनमा अझै सफल हुन सकेका छैनन् । आवश्यक बजेटका लागि सरकारी निकाय धाउँदाधाउँदै उनीहरू नै थाकिसके । रकेट बनाउन सुरु गर्दा ३० जना युवा इन्जिनियर भएको समूह अहिले पाँचजनामा सीमित भएको छ ।
‘कोही लोकसेवाको जागिर खान गए, कोही अमेरिका, कोही अस्ट्रेलिया,’ अझै पनि कम्तीमा ५० किलोमिटर उचाइसम्म सफलतापूर्वक रकेट उडाएरै छाड्ने अठोट बोकेका मोहन तामाङले भने, ‘तर, हामीले हरेस खाएका छैनौँ । अहिले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा काम गरिरहेका छौँ । रकेट उडाउन सानोतिनो बजेटले हुँदैन । ठूलो बजेट चाहिने भएकाले ठुल्ठूलो निकायमा धाएको धेरै भयो । प्रधानमन्त्री कार्यालयसम्म पुग्यौँ, तर सुनुवाइ भएको छैन ।’ साह्रै कम खर्चमा गर्दा पनि कम्तीमा १५ करोड बजेट लाग्ने उनले बताए ।
आर्थिक अभावका कारण लामो समय यो समूह स्वयंसेवाका रूपमा रकेट निर्माणमा लाग्यो । तर, राष्ट्रिय आविष्कार केन्द्रसँग जोडिएपछि भने उनीहरूले थोरै भए पनि ‘पकेट मनी’ पाउन थालेका छन् । ‘सधैँ स्वयंसेवा गर्न पनि सकिँदैन,’ तामाङले भने, ‘त्यही भएर धेरै साथी आ–आफ्नो बाटो लागे । राज्यका निकायले रुचि नदेखाएसम्म हाम्रो पहलले मात्रै केही हुनेवाला छैन । नेपालीहरू नासासम्म त पुगेका छन्, मंगल ग्रहमा पानी पनि पत्ता लगाएका छन् । ठुल्ठूला रिसर्च पनि गरेकै छन् । नेपालीसँग क्षमता नभएको होइन, तर प्लेटफर्म सिर्जना नहुँदा पछाडि पर्न बाध्य भयौँ ।’
युवा इनोभेटर उज्ज्वल ढकालले नेपालमा करिअर नदेखेर ८० प्रतिशत युवा वैज्ञानिक, आविष्कारक र इन्जिनियर विदेश पलायन भएको बताए । ‘८० प्रतिशत त विदेश गएका छन्, भएको २० प्रतिशत पनि सरकारी निकायमा भौँतारिइरहेका छन्,’ उनले भने, ‘अहिले नेपालमा स्पेस इन्डस्ट्री छैन । भर्खरै पुल्चोकमा एयर स्पेस इन्जिनियरिङको पढाइ सुरु हुन थालेको छ । त्यस्तो अवस्थामा हामीले यसको बजार सिर्जना गर्न खोज्दै छौँ । अबको १० वर्षपछि स्पेस इन्डस्ट्री चम्किनेवाला छ ।’
नेपालमा वैज्ञानिक र आविष्कारक कति छन् भन्ने ठ्याक्कै तथ्यांक कसैसँग छैन । तर, कुटो–कोदालो बनाउने, इलेक्ट्रिक गाडी, रोबोट आदि निर्माणदेखि रकेट उडाउनेसम्मको प्रयत्न भने भइरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालले नेपालमा वैज्ञानिकको यकिन तथ्यांक कसैसँग नरहेको बताए । ‘युनिभर्सिटीमा कुल विद्यार्थीको करिब १५ प्रतिशत विद्यार्थी विज्ञानतिर लागेका छन्,’ उनले भने, ‘सन् २०१० को तथ्यांकले प्राविधिक क्षेत्रमा लागेका जनशक्ति सबै जोड्दा करिब एक लाख हाराहारीको तथ्यांक देखिएको थियो । अहिले त्यसको तीन गुणा बढेको हुनुपर्छ । तर, विडम्बना अरू जनसंख्याको तुलनामा प्राविधिक जनशक्ति पलायन हुने क्रम बढेको छ ।’
राज्यले रोक्न नसकेका कारण विज्ञान र प्रविधि क्षेत्रका दक्ष जनशक्ति कोही अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा गइरहेको उनको भनाइ छ । ‘तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्ने हुटहुटी पनि बिस्तारै देखिँदै छ,’ उनले भने, ‘संख्याका हिसाबले हेर्ने हो भने नेपालमा उम्दा र क्षमतावान् वैज्ञानिक र प्राविधिकहरू करिब एक-दुई हजार मात्रै होलान् । काम गर्न सकिन्छ, तर अवसर पाइनँ भन्ने संख्या करिब १० हजारजति होला । उनीहरू राज्यको सहयोग कुरिरहेका छन् ।’
नेपालका युवा वैज्ञानिक तथा इनोभेटरहरू अहिले नास्ट र राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर अध्ययन, अनुसन्धान र आविष्कारका काम गरिरहेका छन् । नास्टले इनोभेटरहरूलाई जोड्न नेसनल इनोभेसन डिजिटल नेटवर्क नै स्थापना गरेको छ । जसअन्तर्गत करिब ७०-८० युवा वैज्ञानिक र इनोभेटरहरू जोडिएको प्रवक्ता ढकालले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रसँग अहिले ७० जति युवा इनोभेटर जोडिएको वैज्ञानिक महावीर पुनले बताए । तर, अहिलेको स्थितिमा नेपालमा युवा वैज्ञानिक तथा इनोभेटरको भविष्य अन्धकार देख्छन् उनी । पुनलाई भेट्न कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा पुग्दा त्यहीँ भेटिए-रकेट उडाउन प्रयत्नरत मोहन तामाङ र उज्ज्वल ढकाल । पुनले युवा वैज्ञानिकहरू नेपालमा ‘फ्रस्टेड’ अवस्थामा रहेको बताए ।
‘फ्रस्टेड छन् उनीहरू,’ पुनले भने, ‘क्षमताले भ्याएसम्म सहयोग गरिरहेका छौँ, तर उनीहरूलाई भनेजस्तो जागिर दिन सकेका छैनौँ । तीन वर्षभित्र केन्द्रका तर्फबाट करिब ३० लाख रकम खर्च गर्यौँ, तर युवा वैज्ञानिकलाई खुसी पारेर राख्न सकेका छैनौँ । युवा वैज्ञानिकलाई खुसी बनाउन सरकारले नीति निर्माण गर्नुपर्छ भनेर धर्ना बसेकै हो ।’
नीति निर्माणका लागि अहिलेसम्म शिक्षा मन्त्रालयबाट तीनवटा ड्राफ्ट बनेको, तर सबै रिजेक्ट गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।