संसद अवरोध नहटाउने एमालेको अडान
-आस्था न्यूज
साउन २१, २०८० काठमाडौं ।
संघीय संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आइतबार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग भेटघाट गरेका छन् ।
छलफलका क्रममा सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा सकारात्मक निर्णय हुन नसकेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
सत्तापक्ष सुन प्रकरणमा छानबिन समिति गठन गर्न तयार नभएपछि कुरा नमिलेको उनको भनाई छ ।
सत्तारुढ दलका नेताहरुले सरकार भ्रष्टाचार विरोधी अभियानमा रहेकोले सहयोग गर्न आग्रह गरेको र आफूहरुले भ्रष्टाचार विरोधी सरकारको अभियानलाई सहयोग गर्नका लागि नै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ । आफुहरुको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्ने एमालेले अडान छोडेको छन् ।
साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय पार भई आएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा विभागले राजस्व चुहावट मुद्दामा अनुसन्धान गरिरहेको थियो । आइतबारमात्र अनुसन्धानका सबै फाइल र थुनुवाहरु प्रहरीलाई बुझाएको छ ।
तर सरकारी अनुसन्धानमा आशंका गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेर साउन १० गतेयता संसद चल्न दिएको छैन । शीर्ष तहमा छलफल भएर सहमति नजुटे सोमबार पनि संसदमा अवरोध कायमै रहने नेताहरु बताउँछन् ।