भिभिआइपी र भिआइपीले अब स्वदेशमै उपचार गर्नुपर्ने निर्णय

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२, २०८० काठमाडौं ।
देशका अति विशिष्ट (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)ले अब स्वदेशमै उपचार गर्नुपर्ने भएको छ । उपचारका नाममा विदेशका अस्पताल धाउँदा बर्सेनि राज्यको करोडौँ रकम बाहिरिने अवस्था अन्त्य गर्न सरकारले स्वदेशमै  उपचार गर्नुपर्ने निर्णय गरेको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयबाट भिभिआइपी र भिआइपीको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा आ–आफ्नो विधाका चर्चित विशेषज्ञ चिकित्सक रहेको १७ सदस्यीय उपचार समिति गठन गरेको छ । जसमा प्रा.डा. भगवान कोइराला, प्रा.डा. रामकण्ठ माकाजू, प्रा.डा. मानबहादुर केसी, प्रा.डा. किरणप्रसाद श्रेष्ठ, प्रा.डा. रविमान श्रेष्ठ, प्रा.डा. शैली प्रधान, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. सुवास आचार्य,  प्रा.डा. शशि शर्मा, प्रा.डा. रमेश चोखानी, सह प्रा.डा. ध्रुव गैरे, डा. सन्दुक रुइत, डा. भोला रिजाल, डा. पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा.अनन्त अधिकारी छन् । 
 
समितिले पहिलो चरणमा भिभिआइपी र भिआइपी उपचारकक्ष रहेको वीर अस्पतालमा उपचार सेवा सुरु गर्नेछ । क्रमशः अन्य अस्पतालमा पनि भिभिआइपी र भिआइपी उपचारकक्ष बनाउने सरकारको योजना छ । विज्ञ चिकित्सकको टोलीले पहिले नेपालमै उपचार गर्ने र सम्भव नभए मात्र विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयलाई विदेशमा उपचारका लागि सिफारिस गर्नेछ । तर, ती व्यक्तिले आफ्नो इच्छामा देशलाई आर्थिक भार पार्ने गरी भने उपचारका लागि विदेश जान पाउने छैनन् । आजको नयाँ पत्रिकामा खबर छ ।