Trending :
 

एमाले सांसदको अवरोधले आजपनि राष्ट्रियसभा बैठक स्थगित

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२,  २०८० काठमाडौं ।
नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।
 
बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए । 
 
त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।
 
अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।
 
त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् ।