Trending :
 

संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिल्यो, कसलाई कति ?

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२,  २०८० काठमाडौं ।
संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।  
 
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको बताए ।
 
उनले केही दिनमै सबै समितिले नेतृत्व पाउने दाबी गरे ।
 
प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । 
 
यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ । संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । यस्तै अर्थ, कृषि र राज्य व्यवस्था समिति कांग्रेसले पाउने सहमति छ ।
 
यसैगरी कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा रास्वपा र राप्रपालाई भने बाइपास गरिएको छ ।
 
संसद्को नियमावलीको नियम १७६ को १ मा सभामुखले तोकेको दिन समितिको सभापतिको निर्वाचन हुने व्यवस्था छ ।