Trending :
 

गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।
 
 त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।
 
खुद मुनाफा :
गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले रू ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको नाफा रू सात अर्ब ५२ करोड ७१ लाख बराबर छ । अघिल्लो आवमा रू चार अर्ब २५ करोड ६० लाख बराबर नबिल बैंकले गतवर्षको तुलनामा रू तीन अर्ब १७ करोड १० लाख बराबरले नाफा बढाएको हो ।
 
गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा रू चार अर्ब ९५ करोड ९२ लाख बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा रू सात अर्ब २५ करोड ३४ लाख नाफा कमाएको छ । गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा रू चार अर्ब २९ करोड २८ लाख बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत आव रू चार अर्ब ९१ करोड ७१ लाख बराबर कमाएको छ ।
 
नाफा बढी कमाउने वाणिज्य बैंकको सूचिमा एनआइसी एसिया बैंक चाँैथौ नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आवमा रू चार अर्ब ६५ करोड १३ लाख बराबर नाफा कमाएको छ । चार अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष रू चार अर्ब ६५ करोड १३ लाख बराबर कमाएको छ ।
 
रू तीन अर्बभन्दा माथि र रु चार अर्बभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या सात छ । गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले रू तीन अर्ब ५२ करोड ५४ लाख, नेपाल बैंक लिमिटेडले रू तीन अर्ब ४१ करोड १५ लाख, एनएमबी बैंकले रू तीन अर्ब ४१ करोड चार र एभरेष्ट बैंकले रू तीन अर्ब ३९ करोड ९१ लाख नाफा कमाएका छन् । 
 
त्यस्तै हिमालयन सिभिल बैंकले रू तीन अर्ब २६ करोड ६१ लाख, सिद्धार्थ बैंकले रू तीन अर्ब १९ करोड एक लाख र कृषि विकास बैंकले रू तीन अर्ब नौ करोड ९३ लाख नाफा कमाएका छन् । छ वाणिज्य बैंकले रू दुई अर्बदेखि रू तीन अर्बको बीचमा नाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको नाफा रू दुई अर्बभन्दा कममा खुम्चिएको छ ।