Trending :
 

चीनको अन्न भण्डारमा बाढीः ठूलो मात्रामा भएको क्षतिले खाद्य सङ्कटको जोखिम

श्रावण २३,२०८०

-आस्था न्यूज

साउन २३, २०८० काठमाडौं ।
रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठुलो मात्रामा कृषिजन्य क्षति बेहोर्नु परेको हो ।
 
ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने हेइलोङजियान प्रदेशमा आएको बाढीले जनजीवन प्रभावित पार्नुका साथै ठूलो मात्रामा कृषि उत्पादन क्षति पुर्‍याएको छ । यो प्रदेशका १२ वटा नदीले खतराको सूचक पार गरेका छन् । यी नदीलाई नियन्त्रण गर्न प्रदेशमा २६ जलाशय सञ्चालनमा रहे पनि नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।
 
उत्तरी क्षेत्रको सोङ्घुह्वा, वुच्हाङ्ग लगायतका नदीमा बाढी आउँदा धान उत्पादनमा प्रसिद्ध क्षेत्रमा ठुलो क्षति पुगेको हो । हेइलोङजियानमा चीनकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् २०२२ मा यो प्रदेशमा मात्रै चीनमा उत्पादन हुने कूल धानको ११.३ प्रतिशत उत्पादन भएको सरकारी तथ्याङ्क छ । ‘बाढीबाट प्रभावित क्षेत्रमा कृषि उत्पादन समेत क्षति पुगेको छ,’ रुरल डेभलपमेन्ट इन्स्टिच्यूट अफ चाइनिज एकेडेमी अफ सोसियल साइन्सका अनुसन्धानकर्ता ली गुओजियाङले भने ।
 
तर, बाढीबाट पुगेको क्षतिको पूर्ण आँकलनपछि मात्रै धान उत्पादन पूर्णरुपमा प्रभावित बनेको वा न्यून क्षति भएको बारे जानकारी मिल्ने उनको भनाई छ । बाढीबाट क्षतिग्रस्त भए पनि धानमा पुगेको क्षति न्यून रहेमा उत्पादन हुन सक्ने आस चिनियाँ अधिकारीहरूमा देखिन्छ । चीनमा हेइलोजियानसहित उत्तरी क्षेत्रको जिलिन प्रदेशमा समेत बाढीले वितण्डा मच्चाएको छ । ग्लोबल टाइम्सका अनुसार यस क्षेत्रका कार्यकारी उप–मेयरसहित १४ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, उद्धारमा खटिएका ३ जनाले समेत आफ्नो ज्यान गुमाउनुपरेको छ ।
 
समाचार संस्था सीएनएनले हेइलोजियान प्रदेशको राजधानी हार्बिन लगायतका क्षेत्रमा ९० हजार हेक्टर क्षेत्रफलमा फैलिएको खेतीमा बाढी पसेको छ । चीनको पिपुल्स डेलीलाई हवाला दिँदै सीएनएनले शाङ्झी सहरमा समेत ४२ हजार हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलिएको क्षति पुगेको छ । चीनका सबैभन्दा धेरै धान उत्पादन हुने यी उत्तरी प्रदेशमा बाढीको वितण्डा मच्चिएपछि विश्वमा थप खाद्य सङ्कटको जोखिम आँकलन गर्न थालिएको छ ।
 
विश्वकै दोस्रो ठुलो अर्थतन्त्र चीनमा ठुलो खाद्य सङ्कटको जोखिम औँल्याइएको छ । हेइलोजियान, जिलिन र लियाओइगं प्रदेशमा आएको बाढीबाट भटमास, मकै र धान खेती प्रभावित बनेको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले समेत पछिल्लो बाढीले ठूलो मात्रामा खाद्यान्न उत्पादनमा कम आउने अनुमान गरिसकेको छ । यसबाहेक हेनान प्रदेशमा आएको बाढीबाट गहुँको उत्पादन प्रभावित हुने आँकलन गरिएको छ । एजेन्सीहरुको सहयोगमा